विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की


काठमाडौँ, असोज २९। प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जारी गर्नुभएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ ।
समवेदनामा जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै भनिएको छ, “उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।”
सदा शान्ति पक्षधर नेपालको छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएकोे खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका समवेदनमा छ । जोशीकोे निधनको खबरले दुई वर्षको सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख छ ।























