देश

यातायात व्यवस्था विभागले भदौको पहिलो सातादेखि लाइसेन्स ट्रायल खुलाउने तयारी

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । यातायात व्यवस्था विभागले कोभिड महामारी जोखिम कम हुँदै गएमा भदौको पहिलो सातादेखि सवारी चालक अनुमति पत्रका लागि ट्रायल खुलाउने तयारी गरेको छ।

विभागका महानिर्देशक नमराज घिमिरेले ट्रायल तथा लिखित परीक्षा नयाँ व्यवस्थाअनुसार लागू हुने र अगाडि नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा पुरानै व्यवस्था लागू हुने बताए । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था सार्वजनिक गरिसकेको छ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ (वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर/मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप, डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो। यो कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भए पनि कोभिडका कारण ट्रायल तथा लिखित परीक्षा हुन नसकेपछि कार्यान्वयनमा भने आउन सकेको छैन।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् र परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ। ‘प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले सवारी साधन व्यवस्था गर्न सक्नेछन्’, निर्देशिकामा भनिएको छ।

यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था रहेको थियो।

कमेन्टहरु