दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल


चितवन, असोज २७। दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको हो ।
केन्द्रीय दुग्ध उत्पादक सरकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले किसानको दूधको भुक्तानी गरेर सहज गर्न आग्रह गर्नुभयो । तीनदेखि सात महिनाको भुक्तानी पाउन बाँकी रहेकाले तिहारलगत्तै मन्त्रालयसँग बसेर भुक्तानीको विषय टुङ्गो लगाउन सङ्घ लागिपरेको उहाँले बताउनुभयो । भुक्तानीको विषयमा सङ्घ गम्भीर भएर सोचेर अघि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार डेरीहरुले रु तीन अर्ब हाराहारी बक्यौता भुक्तानी गर्न बाँकी छ । देशभरमा एक हजार ८७५ दुग्ध उत्पादक सहकारी रहेका छन् । तीमध्ये सङ्घमा ८६६ सहकारी आबद्ध भएको भन्दै उहाँले छ लाखभन्दा बढी परिवार दुग्ध उत्पादन क्षेत्रमा लागेको बताउनुभयो । संस्थानबाहेक ३५ वटा निजी डेरीले सहकारीबाट दूध उठाउँदै आएका छन् । तीमध्ये ४० प्रतिशतको भुक्तानी नियमित नभएर बक्यौता बसेको उहाँको भनाइ थियो ।
सो अवसरमा विभिन्न जिल्लाका अध्यक्षले आ–आफ्नो समस्या राख्नुभएको थियो । नेपालमा सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन, इलाम र काभ्रेपलाञ्चोक पर्दछन् । दैनिक १२ लाख लिटर दूध बजारमा बिक्रीका लागि जाने गर्दछ । चितवनका दुग्ध उत्पादक किसानले मात्र रु ८० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवनका सहकारीले मात्र संस्थानबाट रु ४० करोड र निजी डेरी उद्योगबाट अन्य बक्यौता पाउनुपर्ने बताउनुभयो । जिल्लामा हाल तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर खपत हुने गरेको बगालेले जानकारी दिनुभयो ।























