खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो


खोटाङ । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेरगराउने युवाको चहलपहल बढेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा दैनिक १५ देखि ४० जनासम्मले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गराउने गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिए । ‘देशभर खुला गरिएको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुन्छ । जिल्लामा अहिलेसम्म अपेक्षा गरेअनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम भएको छैन । यद्यपि, हामीले प्रचारप्रसार गरिरहेका छौँ’, उनले भने, ‘नयाँ दर्ता गराउनेले अनलाइन फाराम भरेर बायोमेट्रिक गर्न कार्यालयमा आउने तथा अद्यावधिक गर्नेहरू कार्यालय आउनुपर्दैन । नयाँ दर्ता गराउनेका लागि बिदाको दिनबाहेक दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म कार्यालय खुला राखिनेछ ।’
आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा करिब हजार जना मतदाता थपिने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७९ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको बेला खोटाङमा एक लाख ४३ हजार ७५२ जना मतदाता रहेका थिए ।
निर्वाचन आयोगले नेपाली नागरिकताको प्रमाणपत्र लिएका १६ वर्षमाथिका जोसुकै नेपाली नागरिकले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भन्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम सुरु गरेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशभर सर्कुलर जारी गर्दै आफ्ना कार्यकर्तालाई मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न–गराउन आह्वान गरेको छ ।























