शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण


नारायणगढ । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माण सम्पन्न विद्युतीय शव दाह गृहसहितका विभिन्न सहरी पूर्वाधार विकास आयोजना आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ । देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शव दाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल भवन तथा फुटपाथ निर्माण कार्यसहितका पूर्वाधार औपचारिक रूपमा महानगरको जिम्मा लगाइएको हो ।
आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार शव दाह गृह तथा मलामी प्रतीक्षालय विसं २०७५ माघ ३ गते सम्झौता भई विसं २०८२ साउन ३० गते सम्पन्न भएको हो । सम्झौता रकम रु १० करोड ३६ लाख ५७ हजार ८११ रहेकामा निर्माण सम्पन्न गर्न कुल रु १२ करोड ६४ लाख ८९ हजार ७८४ खर्च भएको उनले जानकारी दिए ।
आयोजनाअन्तर्गत देवघाट क्षेत्रमा बसपार्क, टर्मिनल भवन, फुटपाथलगायतका संरचना देवघाटसँगै महानगरका विभिन्न स्थानमा निर्माण गरिएको छ । यी सबै परियोजनाको लागत करिब रु ३३ करोड ८० लाख ७५ हजार ४८७ रहेको आयोजनाले जनाएको छ । थापाका अनुसार शव दाह गृह सञ्चालन तथा मर्मत–सम्भारका लागि आयोजना पक्षले एक वर्षसम्म सहयोग र निगरानी गर्नेछ । साथै, महानगरले पठाउने जनशक्तिलाई आवश्यक तालिम प्रदान गरिनेछ ।
कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले महानगरले शव दाह गृहको सञ्चालन र व्यवस्थापन जिम्मेवारीका साथ गर्ने प्रतिबद्धता जनाए । महानगर प्रमुख रेणु दाहालले भरतपुरमा पछिल्ला वर्षमा धेरै विकास आयोजना सम्पन्न भएको जनाउँदै नमुना सहरको अवधारणाअनुरूप समग्र विकास कार्य अघि बढिरहेको धारणा व्यक्त गरिन् ।
उनले विकास निर्माणका क्रममा देखिएका विभिन्न प्रशासनिक र प्राविधिक चुनौतीका बाबजुद महानगरले परिणाममुखी काम गरेको उल्लेख गरिन् ।























