धर्म–संस्कृति/रीतिथिति

तुलाधर समुदायले असनमा मनाइयो खड्ग जात्रा

नवलपुर टुडे
२०८२ अशोज १७ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँका अवसरमा खड्ग जात्रा मनाएका छन् । काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मकरूपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्ग जात्रालाई टोल परिक्रमा गराएका थिए ।

उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनुका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको स्थानीयले जनाएका छन् ।

सम्राट अशोकले कलिंगको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चात्ताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दु र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रूपमा लिने गर्छन् । 

कमेन्टहरु