खेलकुद

धनकौल अन्तर्राष्ट्रिय पहलवानको जमघट, पूर्वमन्त्री सिंहद्वारा उदघाटन

नवलपुर टुडे
२०८२ अशोज १६ | मध्यान्ह ०६:०६ बजे

मधेश । तराई–मधेशको मौलिक संस्कृति र वीरताको विरासतलाई जीवित राख्दै सर्लाहीको धनकौल बजार यतिखेर पहलवानीको रंगशाला बनेको छ। श्री दुर्गा पूजाको पावन अवसरमा आयोजित दुई दिने कुस्ती दंगल बुधबारदेखि भव्यताका साथ सुरु भएको छ।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले रिबन काटेर यस ऐतिहासिक कुस्ती प्रतियोगिताको विधिवत् उद्घाटन गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद सिंहले कुस्तीलाई ‘बाजेको पालादेखि चल्दै आएको संस्कृति’ भन्दै यसलाई संरक्षण गर्न युवा पुस्तालाई विशेष आह्वान गरे। प्रतियोगिताको पहिलो दिन नै नेपाल र भारतका नाम चलेका पहलवानहरूले आफ्नो बल र कौशलको बेजोड नमुना प्रस्तुत गरे। मैदानमा नेपालका अन्तर्राष्ट्रिय कुस्ती खेलाडीहरू देवा थापा, जावेद गनी, मेवा थापा, कतप, हरिओम दास र वाबा पहलवान जस्ता दिग्गजहरूको कुश्ती हेर्न लायक थियो। उनीहरूले स्थानीय पहलवानहरूसँग प्रतिस्पर्धा गर्दै दर्शकहरूलाई रोमाञ्चित बनाए।

नेपाली कांग्रेस धनकौल गाउँपालिकाका युवा नेता दीपेन्द्र साहका अनुसार कुस्ती प्रतियोगिताको फाइनल भिडन्त आज हुदैछ ।
यसअघि, नवमीको रातमा राष्ट्रिय कलाकार प्रीति पासवानको बेजोड सांस्कृतिक प्रस्तुतिले माहोललाई थप रौनकता दिएको थियो। कार्यक्रममा धनकौल गाउँपालिकाका अध्यक्ष रामअस्रे साह लगायत विभिन्न वडा अध्यक्षहरूको पनि सहभागिता रहेको थियो।

WhatsApp Image 2025 10 02 at 18.11.17 c553e76e

कमेन्टहरु