प्रबास

अहिंसा दिवसको तीन दिनअघि लन्डनमा महात्मा गान्धीको प्रतिमा तोडफोड

एजेन्सी
२०८२ अशोज १४ | मध्यान्ह ०२:०६ बजे

लन्डन । सोमबार लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड गरिएको छ ।लन्डनमा रहेको भारतीय उच्चायोगले घटनाको कडा निन्दा गरेको छ । भारतीय उच्चायोगले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमा तोडफोडको उल्लेख  गरेको थियो । अक्टोबर २ मा वार्षिक गान्धी जयन्ती समारोहको केही दिन अघि यो घटना भएको हो ।

लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोडको लज्जास्पद घटना भएको भारतीय उच्चायोगले एक्सको पोष्टमा जारी आफ्नो विज्ञप्तिमा भनेको छ ।‘हामी यो कार्यको कडा निन्दा गर्छाैं । यो केवल तोडफोड मात्र होइन, तर अन्तर्राष्ट्रिय अहिंसा दिवसको तीन दिनअघि अहिंसाको विचार र महात्माको विरासतमाथि हिंसात्मक आक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ ।

यस विषयलाई तत्काल कारबाहीका लागि स्थानीय अधिकारीहरूसँग गम्भीरतापूर्वकउठाइएको पनि भारतीय उच्चायोगले आफ्नो विज्ञप्तिमा भनेको छ । ‘हाम्रो टोली घटनास्थलमा उपस्थित छ र मूर्तिको गरिमा पुनर्स्थापित गर्न अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको छ,’ उच्चायोगले भनेको छ ।

कमेन्टहरु