विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ


गोरखा, असोज १२। जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ । त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक विकले पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिनुभयो । “गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू छन्”, उहाँले भन्नुभयो । प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण सङ्कलन भइरहेकाले खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।






















