को थिए विजयको करूर र्यालीमा भएको भागदौडमा मृत्यु हुनेहरू ?

एजेन्सी
२०८२ अशोज १२ | बिहान ११:०६ बजे

नयाँ दिल्ली । तमिलनाडुको करूरमा तमिल अभिनेता विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ । मृतकहरूमा १० बालबालिका र १६ महिला थिए । अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ ।
करुर भागदौडमा ३९ जनाको मृत्यु भएको र ९५ जनालाई अस्पताल भर्ना गरिएको तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले बताए । ९५ जना घाइतेमध्ये ५१ जनालाई सरकारी मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ उनको भनाइ छ ।
एक जना बाहेक सबै घाइतेको अवस्था स्थिर छ । बाँकी ४४ जनालाई निजी अस्पतालमा भर्ना गरिएको कुमारले बताए । विशेषज्ञ डाक्टरहरूले घाइतेहरूको उपचार गरिरहेका उनको भनाइ छ । शनिबार साँझ करूरमा विजय आफ्नो तमिलगा भेट्टी कझगम (टिभीके) पार्टीको र्यालीलाई सम्बोधन गर्दै गर्दा दुर्घटना भएको थियो । र्यालीमा भागदौड पछि, विजयले इन्स्टाग्राममा पोस्ट गरेर आफ्नो समवेदना व्यक्त गरेका थिए ।


















