बागलुङ कालिका मन्दिरमा दर्शनार्थी घटे


ढोरपाटन (बागलुङ), असोज ११। यहाँस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा नवरात्र सुरु भएपछि दैनिक हजारौँ दर्शनार्थी कालिका मन्दिरमा आउने गरे पनि यस वर्ष भने उल्लेख्य कमी आएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष दसैँको बिदा सुरु भएपछि राजधानीसहित देशभरबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आएको भएपनि यस वर्ष आन्दोलनका कारण धेरैमा उल्लास नहुँदा कम भएको खड्काले बताउनुभयो ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको हो ।























