तेह्रथुममा सिस्नो प्रशोधन सुरु, सुपरमार्केटहरूको माग धान्नै मुस्किल


तेह्रथुम, असोज ११। यहाँको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले सिस्नोको प्रशोधन सुरु गरेको छ । प्राकृतिक रुपमै उम्रिने सिस्नोबाट रुपैयाँ साट्ने उद्देश्यले चैते सामुदायिक वन उपभोक्ता समितिले सिस्नोको परीक्षण प्रशोधन सुरु गरेको हो ।
अहिले हरियो सिस्नो प्रतिकेजी रु ८० मा खरिद गरेर प्रशोधन गरिँदै आएको छ । प्रशोधन गरेर एक केजी पाउडर तयार गर्न नौ केजी हरियो सिस्नो आवश्यक पर्ने र त्यसको मूल्य करिब रु ३५ सयसम्म पर्न आउने प्रशोधनमा खटिँदै आउनुभएका चैते सामुदायिक वन उपभोक्ता समितिका सहसचिव दीपेन्द्र बस्नेतले बताउनुभयो ।
विसं २०५२ मा स्थापना भएको चैते सामुदायिक वन उपभोक्ता समितिमा ३६० घरधुरी उपभोक्ता आबद्ध छन् । ३५४ दशमलव चार हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमध्ये एक हेक्टर क्षेत्रफलमा सिस्नु रोपण समेत गरिएको छ । समितिका पदाधिकारी, सदस्य र उपभोक्ताहरूको श्रमदानबाट पात्ले, अल्लो र घरायसी जातका सिस्नो रोपण गरिएको हो ।
प्रशोधनका लागि हरियो सिस्नोको अभाव हुन नदिन साथै गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको वसन्तपुर बजार आउने सिस्नोका सौखिन पर्यटकलाई घारीमै सिस्नो देखाउन, स्वयम् उनीहरूलाई टिपाउन र पकाएर खुवाउने समेत लक्ष्य रहेको उपभोक्ता समितिका सदस्य तथा सिस्नो प्रशोधन कार्यक्रम उपसमितिका सदस्य वीरेन्द्र बस्नेतले बताउनुभयो ।
बहुगुण भएको सिस्नोलाई पहिले–पहिले गरीब दुःखीले खाने जङ्गली सागका रूपमा लिने गरिन्थ्यो । तर, विस्तारै सिस्नोको उपयोगिता, महत्त्व र यसले मानव स्वास्थ्यमा पुर्याउने फाइदाबारे थाहा हुँदै गएपछि अहिले होमिस्टेदेखि तारे होटलसम्म सिस्नोको माग हुन थालेको छ । बाह्रै महिना पर्यटकीय चहलपहल भइरहने वसन्तपुर बजारका होटलहरूमा पनि सिस्नोको दाल खोज्ने पर्यटक प्रशस्तै आउछन् । बाह्रैमास नपाइने सिस्नोको प्रशोधन थालिएपछि अब जुनसुकै ‘सिजन’ मा पनि पर्यटकलाई सिस्नो खुवाउन सकिने आशा पलाएको वसन्तपुरस्थित दार्जिलिङ होटलका प्रोप्राइटर वीरेन्द्र बस्नेतको भनाइ छ ।
प्रायः गरेर बस्तुभाउको चारोको रूपमा अधिक प्रयोग हुने सिस्नो स्थानीयस्तरमै प्रशोधन थालिँदा स्थानीय उत्साहित छन् । चैते सामुदायिक वनले सुरु गरेको सिस्नो प्रशोधन कार्यले व्यावसायिक चरणमा प्रवेश गरेसँगै सिस्नोबाट राम्रो आर्थिक उपार्जन गर्न सकिने स्थानीयको आशा छ ।
विशेष गरेर सेपिलो र चिस्याइलो पहाडी पाखा–भित्ता, वनजङ्गल र खोला–खोल्साहरूमा प्रशस्तै पाइने सिस्नो बहूउपयोगि वनस्पती हो । सिस्नो पोसिलो सागपातअन्तर्गत पर्छ भने सिस्नोमा औषधीय गुण हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने जानकारहरू बताउँछन् ।























