बेटिङ एपको प्रवर्द्धन : सोनु सूदसँग सात घण्टा सोधपुछ

एजेन्सी
२०८२ अशोज ९ | मध्यान्ह ०४:०६ बजे

नयाँ दिल्ली । अभिनेता सोनु सूदलाई अनलाइन बेटिङ एप वानएक्स बेटको प्रवर्द्धनसँग सम्बन्धित मुद्दामा ईडीले करिब सात घण्टा सोधपुछ गरेको छ। बुधबार दिउँसो १२ बजे कानुनी टोलीसहित ईडी कार्यालय पुगेका सूदसँग मनी लन्ड्रिङ रोकथाम ऐन (पीएमएलए) अन्तर्गत बयान लिइएको हो।
अनुसन्धान अवैध बेटिङ एपमार्फत करोडौँको ठगी र कर छलीमा केन्द्रित छ। कम्पनीहरूमाथि लगानीकर्तालाई ठगेको र अवैध रूपमा ठुलो रकम सङ्कलन गरेको आरोप छ। यद्यपि, वानएक्स बेटले आफूलाई १८ वर्षभन्दा बढी अनुभव भएको विश्वव्यापी मान्यता प्राप्त बुकमेकर दाबी गर्दै आएको छ।
भारत सरकारले हालै पारित गरेको अनलाइन गेमिङ विधेयक २०२५ अनुसार ड्रीम११, रम्मी, पोकरलगायत सबै प्रकारका अनलाइन बेटिङ एपहरू प्रतिबन्धित गरिएका छन्। यसअघि २०१७ मा सर्वोच्च अदालतले ड्रीम११ जस्ता काल्पनिक खेललाई सीपको खेल भने पनि, भारतमा अनलाइन बेटिङ कानुनी कहिल्यै थिएन।


















