‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी


झापा, असोज ९। यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन् ।
व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
यहाँ अवलोकन र अनुसन्धानका लागि बर्सेनि करिब दुई लाख पर्यटक भित्रिने गरेका छन् । ‘जेनजी’ प्रदर्शनपछि यहाँ प्रवेश बन्द गरिएको छ । पर्यटकमा निर्भर प्रतिष्ठान हाताबाहिरका ५० भन्दा बढी पसल र रेस्टुरेन्ट पनि हाल सुनसान छन् ।
सन् २०१२ मा उभयचर वैज्ञानिक डा केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् । स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ ल्याएर संरक्षण गरिँदै आइएको छ ।























