विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान


दोधारा चाँदनी (कञ्चनपुर), असोज ९। प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ ।
गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ । “सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ”, विपिनका बुबा महानन्द जोशीले भन्नुभयो, “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्र्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।”
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।























