गाजामा इजरायली बमबारी, १५ प्यालेस्टिनीको मृत्यु


गाजापट्टी । इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा आक्रमण गर्दा कम्तीमा १५ प्यालेस्टिनी मारिएको गाजाको नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।इजरायलले गाजा सहरमा ठुलो हवाई र भूमि आक्रमण सुरु गरेको छ । आक्रमणपछि लाखौँ मानिसलाई सहर छाड्न बाध्य पारेको छ । केही मानिसले केन्द्रमा शरण लिएको बेला हवाई आक्रमणले प्रहार गरेको प्रवक्ता महमुद बासलले बताए ।
उनका अनुसार नगरपालिकाको गोदाम र फिरास बजार नजिक विस्थापितहरूको त्रिपालमा गरिएको तीनवटा हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भयो । तीमध्ये धेरै बालबालिका थिए । अन्य आक्रमणमा अल–सहाबा स्ट्रिटको अपार्टमेन्टमा दुई र अल–यर्मोक बजार क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।
आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा एक हजार दुई सय १९ इजरायली मारिएका थिए ।मिडिया प्रतिबन्ध र पहुँच कठिनाइका कारण एएफपीले यी विवरण स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन ।यसैबिच, संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले गाजामा इजरायलको कारबाहीलाई ‘नरसंहार’ भनेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै ‘विकृत र झुटो’ ठहर गरेका छन् ।
गाजाको ठुलो भाग अहिले ध्वस्त भएको छ र संयुक्त राष्ट्रसङ्घ समर्थित निकायले गत महिना यस क्षेत्रको केही भागमा आधिकारिक रूपमा अनिकाल घोषणा गरेको थियो ।























