चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल


काठमाडौँ, असोज ८। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ–कोदारी ९अरनिको० र स्याप्रुबेँसी–रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत् आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।
मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको जानकारी गराउँदै नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक बिस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
सो अवसरमा राजदूत सोङले छिमेकी मित्रराष्ट्र नेपालको प्राथमिकताका आधारमा यसअघि जस्तै सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभयो ।
उक्त भेटमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल र सडक विभागका महानिर्देशक बिजय जैशी एवं परराष्ट्र मन्त्रालय उत्तरपूर्व एसिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका अधिकारीको उपस्थिति थियो ।























