अर्थ

तातोपानी-कोदारी राजमार्ग खुल्यो, सामान आयात सुरु

रासस
२०८२ अशोज ८ | मध्यान्ह ०२:०६ बजे

पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी-कोदारी राजमार्ग खुलेको छ। राजमार्ग खुलेसँगै चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन्।

कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका-२ इकोसहितको चार ठाउँको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको थियो। इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो।

महिनादिनभन्दा बढी समयदेखि रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकासम्म भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिए। उनले भने, ‘दसैं लक्षितलगायत सामग्री भित्रिएका छन् र आज पनि लोडको काम भइरहेको छ।’

सडक सञ्चालनको अवस्थाबारे बुझ्न सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीसहितको टोली पुगेको थियो।

कमेन्टहरु