कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन


कञ्चनपुर । चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ ।वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी बनाउनु रहेको छ ।
चाडपर्वका बेला सामुदायिक वनका उपभोक्ता चाडपर्व मनाउने कार्यमा व्यस्त हुने भएकाले वन क्षेत्रमा चोरी–तस्करी र सिकारीजस्ता गतिविधि बढ्ने सम्भावना उच्च हुने भएकाले प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको कार्यालय प्रमुख यादवले बताए ।टोलीमा आठ वटै सामुदायिक वनका पदाधिकारी तथा वन कार्यालयका कर्मचारी गरी १५ सदस्य सहभागी छन् । टोलीले दसैँ, तिहार, छठलगायत पर्वमा चौबिसै घण्टा सक्रिय रूपमा वन क्षेत्रमा गस्तीको कार्यलाई निरन्तरता दिनेछन् ।
“प्राप्त सूचनाका आधारमा टोली तत्काल (रात, दिनमा चौबिसै घण्टा) घटनास्थलमा परिचालन हुनेछ,” उनले भने, “टोलीका सदस्यले स्थानीय प्रहरी र समुदायसँग समन्वय गर्नेछन् ।” यादवका अनुसार भारतसँगको सीमा नजिक भएकाले बेलौरी र पुनर्वास क्षेत्र अझ संवेदनशील मानिन्छ । यस कारण सीमापारि हुने अवैध गतिविधि रोक्न पनि टोलीलाई सक्रिय बनाइएको उनको भनाइ रहेको छ ।
“दुवै नगरपालिकामा हिंस्रक जनावर चितुवा, पाटेबाघ बेलाबेलामा देखापर्ने गरेका छन्, ती जनावरले स्थानीय बासिन्दालाई आक्रमण गरी घाइते बनाउने, घरपालुवा जनावरमा क्षति पुर्याउने समस्या रहेको छ”, उनले भने, “जङ्गली हात्तीको समस्या पनि उत्तिकै छ, मानव बस्तीमा अजिङ्गर पनि देखापर्ने गर्दछ । यी समस्या नियन्त्रण गर्न र घाइते जनावरको उद्धारमा सहयोग पुर्याउन टोलीले मद्दत पुर्याउने छ ।”
सामुदायिक वन उपभोक्ताहरूसँग बसेर छलफल गरी रणनीति बनाएर टोली औपचारिक रूपमा परिचालन गरिएको उनले जानकारी दिए ।स्थानीय उपभोक्ता समितिहरूले यस कार्यको स्वागत गरेका छन् । उपभोक्ता समितिका पदाधिकारीहरूले द्रुत प्रतिकार्य टोलीको सक्रियताले वन्यजन्तु संरक्षण र वन पैदावार चोरी–तस्करी नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।























