अर्थ

काँकरभिट्टा नाका : आयात बढ्यो, निर्यात घट्यो

रासस
२०८२ अशोज ७ | मध्यान्ह ०२:०६ बजे

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड १ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्। यो गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६८ करोड ८ लाख अर्थात् ९ प्रतिशतले बढी हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले भने, ‘गत आवमा ७ अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु आयात भएको थियो।’

चालु आर्थिक वर्षको साउन र भदौमा यो नाकाबाट हुने निर्यात घटेको छ। यो अवधिमा ३ अर्ब ६ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा ३ अर्ब ८६ करोड २८ लाखको सामान निर्यात भएको थियो। यो २०.६९ प्रतिशतले कम हो।पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट, मोलासिस छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडा छन्।

कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा आयात-निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व संकलन भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ८.६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख ९ हजारले बढी हो।

कमेन्टहरु