सिरहामा बालक अपहरणपछि हत्या

रासस
२०८२ अशोज ७ | मध्यान्ह १२:०६ बजे

गोलबजार (सिरहा), असोज ७। यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् । परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन् । सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धानका लागि कुकुर ल्याउने तयारी गरिएको छ ।























