बडादसैँका अवसरमा पशुपतिमा नवरात्री महोत्सव


काठमाडौँ, असोज ७। बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ ।
यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।























