गोरखा दरबारको दसैँघरमा जमरा राखियो


गोरखा असोज ४। गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उहाँले भन्नुभयो, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’’
त्यस्तै गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिनुभयो । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।























