सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

रासस
२०८२ अशोज ५ | मध्यान्ह ०२:०६ बजे

बागलुङ । गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् ।
कार्यालय र निर्माण व्यवसायीको सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । पहिरोका कारण पुरिएको गोठबाट मृत अवस्थामा भैँसी निकालिएको उनले बताए ।
क्षतिग्रस्त घरबाट सामग्री स्थानान्तरण कार्यमा नगरपालिकाले नगरप्रहरीका साथै डोजर प्रयोग गरेर तत्कालै सहजीकरण गरेको खड्काले उल्लेख गरे । उनका अनुसार सडक डिभिजन कर्यालयको सहजीकरणमा लगातार पाँचदिन स्काभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो ।


















