उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसियो


पर्वत, असोज ३। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ ।
सडक नियमित रुपमा मर्मतको काम नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । सडकखण्डको सेतीवेणीदेखि कुर्घासम्मको सडक निर्माण कार्य अधिकांश सम्पन्न भए पनि केही भागको काम भने अझै अलपत्र छ । कुर्घादेखि पाङ्राङ जोड्ने स्थानमा सडक जीर्ण अवस्थामा छ ।
काम सम्पन्न भए जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या आएको इञ्जिनियर गौतमले बताउनुभयो । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण हुन नसक्दा सडक विभागले मर्मतलगायतको काम गर्न नपाएको उहाँको भनाइ छ । पर्वत खण्डको २९ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । कुन निकायले रेखदेख गर्ने भन्ने स्पष्ट नहुँदा सडक मर्मत तथा रेखदेखमा समस्या भएको इञ्जिनियर गौतमले बताउनुभयो ।
पर्वत खण्डको सेतीबेनीदेखि फलेबास ढिकसम्मको सबै खण्ड कालोपत्र भइसकेको छ । कालोपत्र भइसकेको खण्डलाई राष्ट्रिय राजमार्गमा सूचीकरण नगर्दा कुन निकायले मर्मत र रेखदेख गर्ने भन्ने समस्या भएको उहाँले बताउनुभयो । सम्पन्न भइसकेको खण्डमा वर्षायाममा खसेको पहिरोसमेत पन्छाउन समस्या भएको कार्यालयले जनाएको छ ।
लोकमार्गअन्तर्गत पर्वतको सेतीवेणीदेखि अर्मादीसम्म ४३ किलोमिटर सडकको काम धमाधम भइरहेको छ । त्यसैगरी फलेबास–अर्मादी सडकखण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापरबाही कारण समयसमा काम नहुँदा कालोपत्रको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रको कामको टेन्डर आह्वानसमेत हुन नसकेको र चालु आर्थिक वर्षमा बजेटसमेत सुनिश्चितता नभएको कार्यालयले जनाएको छ । स्याङ्जाको मिर्मीदेखि पर्वतको सेतीबेनीसम्मको १० किलोमिटर सडक पनि कालोपत्र हुँदै छ भने पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडकसमेत चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।























