अमेरिकी समर्थनपछि गाजामा इजरायलको भीषण बमबारी

एजेन्सी
२०८२ भदौ ३१ | मध्यान्ह ०२:०५ बजे

गाजा । इजरायलले रातभर गाजा सहरमा ठुलो मात्रामा बमबारी गरेको छ। अमेरिकी समाचार वेबसाइट एक्सियोस र यरुसलेम पोस्टले अज्ञात स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाले अब सम्पूर्ण सहर कब्जा गर्नका लागि आफ्नो स्थलगत आक्रमण सुरु गरेको बताएका छन्, यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबार यरुसलेमको भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिकाको अटुट समर्थनको आश्वासन दिएको केही घण्टापछि नै यो आक्रमण भएको हो।
मंगलबार बिहान सबेरै इजरायलका रक्षा मन्त्री इजरायल काट्जले ‘एक्स’ (पहिले ट्विटर) मा लेखेका छन्, ‘गाजा जलिरहेको छ’ । उनले ‘जबसम्म मिसन पूरा हुँदैन, तबसम्म इजरायल पछि हट्दैन र हार मान्दैन‘ भन्दै धम्की दिएका छन्।गाजाका स्थानीय पत्रकारहरूका अनुसार गाजा सहरमा इजरायलले निरन्तर हवाई आक्रमण, तोप र गोलाबारी गरिरहेको छ। घरहरू ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा फसेको बताइएको छ।
इजरायलले गाजा सहरका बासिन्दाहरूलाई सहर छोडेर दक्षिणी क्षेत्रमा जान आदेश दिएको छ। इजरायल रक्षा बल (आईडीएफ) ले लगभग २ लाख ५० हजार प्यालेस्टिनीहरू त्यहाँबाट भागेको अनुमान गरेको छ, यद्यपि अझै पनि लाखौँ मानिसहरू त्यहीँ रहेको विश्वास गरिन्छ।


















