दूग्ध उत्पादन किसानलाई अनुदान


गलकोट (बागलुङ), भदौ ३१। किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूध सङ्कलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा रु पाँच अनुदान पाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा बागलुङका आठवटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले रु ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन् । अनुदानबाट झण्डै आठ सय किसान लाभान्वित भएका छन् ।
आव २०७८/७९ मा चार लाख २० हजार लिटर दूधमा अनुदान वितरण गरेको केन्द्रले गत आवमा सात लाख ४६ हजार ५५४ लिटर दूधमा रु ३७ लाख ३२ हजार ७६८ अनुदान वितरण गरेको थियो । किसानलाई १० लाख लिटर दूधमा अनुदान दिन सक्ने विज्ञ केन्द्रको भनाइ छ । बागलुङ बजारमा जिल्ला सहकारी सङ्घमा १५ उत्पादन सहकारीले दूधको सङ्कलन गरेर पठाउने भए पनि दैनिक दुई सय लिटर दुधको कारोबार गर्ने सहकारी जम्मा ८ मात्रै हरेकाले मापदण्ड अनुसार आठवटा सहकारीमा दूध सङ्कलन गर्ने किसानले मात्रै उत्पादनका आधारमा प्रतिलिटर रु पाँचका दरले अनुदान प्राप्त गरेका हुन् ।


















