समाज

जेनजी आन्दोलनमा ज्यान गुमाएका आलमले दुई महिनाअगाडि मात्रै गरेका थिए विवाह

नवलपुर टुडे
२०८२ भदौ २८ | बिहान ०९:०५ बजे

पर्सा । दुई महिनाअघि मात्रै वीरगन्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए । वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मंगलबार काठमाडौंमा भएको जेनजी समूहको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाए । 

२२ वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुरनजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा बाँधिएका थिए । तर, कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगन्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन् । 

विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौंमा बस्दै आएका थिए । तर, मंगलबार पठाओमा यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उनको परिवारले जनाएको छ । 

उनको मृत्युसँगै अहिले उनकी आमा नजला खातुन र उनकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मुर्छित हुँदै अचेत हुन्छन् । आफ्नो छोराको मृत्युले विछिप्त भएकी आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताइन् ।  

“मेरो छोरा श्रवणकुमार जस्तै थियो । भर्खरै बिहे गरेर बुहारी भित्र्याएको  छ । अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली ?”, आमा नजलाले रुँदै भनिन्, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ ।” 

आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको  भनेर बारम्बार प्रश्न सोध्ने गरेकी छन् । 

“अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन् । मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो ,” उनले स्तब्ध हुँदै भनिन् । 

मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाव वीरगन्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन संकायमा पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौं गएका थिए । 

असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मंगलबार बिहान १० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उनको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको जानकारी दिए । 
 
“असहावको छाती र पेटमा गरेर दुईवटा गोली लागेको देखिन्छ”, उनले भने, “शुक्रबार परीक्षणलगायत प्रक्रिया पूरा गरेर असहावका काकाले उहाँको शव ल्याउँदै हुनुहुन्छ ।”

कमेन्टहरु