जितिया पर्वको तयारीमा मिथिलानी


महोत्तरी । राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबिच सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले जितिया पर्वको तयारी थालेका छन् । निषेधाज्ञा र कर्फ्यूका बीच मिथिला क्षेत्रका सन्तानवती महिलाले यो पर्वको तयारी थालेका हुन् ।
“पर्व आइसक्यो, तर कर्फ्यू अर्झ हटेको छैन, सरसामान जुटाउन हाटबजार आउजाउ गर्न अझै सहज भइसकेको छैन”, जलेश्वर–५ चौरियाकी बासिन्दा पेसाले शिक्षक नायडु तिवारी भन्नुहुन्छ, “हामीलाई भने पर्वले छोपी सकेको छ ।”
विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिनै मैथिल परम्परा छ । यसअनुसार यसपालि आउने आइतबार बिहान ८ः४४ मिनटदेखि नै अष्टमी सुरु हुनेहुँदा सो दिन जितिया व्रत गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउछन् । यसअनुसार भोलि शनिबार मध्यरातदेखि सुरु हुने व्रत एक अहोरात्र र नवमी एकघडी कटाउँदा सोमबार बिहान ७ः०० बजे समापन गर्न सकिने उनको भनाइ छ । यो समय गणनाले यसपालिको व्रत ३१ घण्टा हुने झाले स्पष्ट पारे ।
जितिया पर्वका बर्तालुले व्रतअघिको मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएर पर्व सुरु गर्छन् । यसअनुसार यसपालिको ‘ओगटन’ भोलि शनिबार मध्यरातपूर्व हुनेछ । ‘ओगटन’ मा दहीचिउरा खाने आम चलन छ ।
सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।
प्रारम्भमा सन्तान (छोरा/छोरी)को कल्याण कामनार्थ गरिदै आइएको यो व्रत पछिपछि पितृसत्तात्मक समाज बन्दै गएपछि पुत्रका नाउँमा हुन थालेको अहिलेका आधुनिक मिथिलानी बताउँछन् । तर अब लैङ्गिक विभेदविरुद्धका सामाजिक सचेतना अभियान बढ्दै गएपछि फेरि सन्तान (छोराछोरी) कै नाउँमा गर्ने प्रचलन बढ्दै गएको मटिहानी नगर कार्यपालिकाको कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दास बताउछिन् ।
मिथिलामा यो पर्व सौर्य र पराक्रमको प्रतीक मानिनछ । ‘तोहर माय जितिया कैने छौ त आ भिड’ (तिम्री आँमाले जितिया गरेकी छन्भने आउ भिड) मिथिला क्षेत्रमा हुने झैझगडामा एकअर्कोपक्षलाई ललकार्नु पर्यो भने मैथिल यस्तै भन्छन् । यस उक्तिले पनि पर्वको महत्व झल्कने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउछन् ।
“सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै आँमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ”, झा भन्नुहुन्छ, “कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आँमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा यो व्रतबारे गरिने यस्ता टिप्पणीले पनि पर्वको अपरिहार्यता र महत्ता बढाएको आम मैथिल बताउँछन् ।
सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा चलेको मानिन्छ । पितृपक्षमा पुरुषले दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गरिएको मिथिलानी बताउँछन् । “हामी बर्तालु यस पर्वमा सासु, बुढीसासु, आँमा, बज्यै, बुढीबज्यै, फुपू, जेठानीदेउरानी, काकी र दिदीसहितका दिवङ्गतलाई तर्पण दिन्छौ” व्रतको तयारीमा रहेकी भङ्गाहा–४ थारुटोल बनराकी आसवती चौधरी भने, “उनीहरुसँग सन्तानलाई स्वर्गबाट आशिर्वाद पठाइ राख्न प्रार्थना गरिन्छ ।”
पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिदै ‘तिमी आफ्ना पौत्रपौत्री (नातिनातिना), प्रपौत्रप्रपौत्री (पनातिपनातिनी) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।
मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिँदै आइएको यो पर्वमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।
राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको मानिन्छ । भविष्य पुराण द्वापरको अन्त्यतिर रचना भएको मानिदा यसलाई सो समयमै थालिएको मान्न सकिने जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८७ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ । यसक्षेत्र (मिथिला)का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै महिलाका लागि मधेस प्रदेश सरकारले विदा दिदै आएको छ ।























