राजनीति

संक्रमणको निकास संविधानसम्मत तरिकाले खोज्न माओवादीको आग्रह

नवलपुर टुडे
२०८२ भदौ २६ | बिहान १०:०५ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अहिलेको संक्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाले खोज्नुपर्ने बताउँदै संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगामी शक्तिलाई फाइदा पुर्‍याउने बताएका छन्। अध्यक्ष पुष्पकमल दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतगामी शक्तिलाई फाइदा पुर्‍याउने उल्लेख गर्दै भनेका छन्- ​’हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो। 

त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ।’ दाहालले लेखेका छन्- ‘संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ।’ उनले अगाडि भनेका छन्-  ‘संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं। यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौ।’

दाहालले गणतान्त्रिक व्यवस्थामा भएको कमीकमजोरीलाई सच्याएर अघि बढ्न पार्टी तयार रहेको पनि बताएका छन्। उनले भनेका छन्- ‘नेकपा (माओवादी केन्द्र) नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो। हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष गर्‍यौं। त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं।’

‘गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन्। गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो, नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो,’ उनले अगाडि भनेका छन्।

कमेन्टहरु