पर्यटन

सिचुवान एयरलाइन्सले फेरि पोखरा-छेन्दु-अष्ट्रेलिया उडान सुरु गर्दै

नवलपुर टुडे
२०८२ भदौ १९ | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ । पोखरादेखि चीनको छेन्दु उडान रोकेको सिचुवान एयरलाइन्सले अब भने पोखरा-छेन्दु-अष्ट्रेलिया उडान सुरु गर्ने तयारी गरेको छ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले आउने अक्टोबरदेखि उक्त विमानले उडान सुरु गर्ने जानकारी दिए।उनी पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्न सक्ने अवस्था बन्नु खुशीको कुरा भएको बताउँछन्।

सिचुवान एयरलाईन्सले केही समय अगाडि पोखरा–छेन्दु उडान गर्दै आएको भए पनि आफ्नै प्राविधिक कारण देखाएर उडान रोकेको थियो। हाल पोखरा विमानस्थलबाट नियमित रुपमा हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासामा हप्तामा एउटा उडान गरिरहेको छ।

निरौलाले भुटान एयरलाइन्सले पोखरा विमानस्थलबाट चार वटा चार्टर्ड उडान गर्ने तयारी भएको पनि जानकारी दिए। सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा उक्त एयरलाइन्सले पारो–पोखरा–पारो चार्टर्ड उडान गर्नेछ।पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल दैनिक ४० भन्दा बढी आन्तरिक हवाई उडानहरु भइरहेका छन्।

दिनमा २ हजार भन्दा बढी यात्रुहरुले विमानस्थलबाट सेवा लिइरहेका छन्। सेप्टेम्बर १५ देखि भने पर्यटन सिजन लाग्ने र त्यस बेलामा भने दैनिक ५० भन्दा बढी उडान निरौला बताउँछन्।

कमेन्टहरु