विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने


काठमाडौँ, भदौ १७ । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो ।
विभागका अनुसार यस प्रणालीलाई पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य लागू गर्न लागिएको छ । दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारेहोटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जमा लागू गरिनेछ ।
विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरेको छ । नयाँ प्रणाली लागू गर्नेबारे विभागले हालै होटल सङ्घ नेपाललगायत सरोकारवालासँग छलफल गरेको थियो । सङ्घका अनुसार विगत लामो समयदेखि यो प्रणालीबारे छलफल भए पनि लागू हुनसकेको थिएन । नयाँ प्रणालीका विषयमा छिट्टै आधिकारिक धारणा ल्याइने सङ्घले जनाएको छ ।























