अटोरिक्सा दुर्घटना हुदाँ एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

रासस
२०८२ भदौ १६ | मध्यान्ह ०४:०५ बजे

खलङ्गा (दार्चुला), भदौ १६ । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उहाँले बताउनुभयो ।
चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक रावतले बताउनुभयो । बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।


















