देश

जातीय विभेद विरुद्ध पत्रकार सम्मेलन

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०९:०४ बजे

काठमाडौ । सम्पुर्ण राजनीतिक र कानूनी परिवर्तनका बाबजुद हाम्रो देशमा कथित “अछूत” वा दलित बनाइएका ६०-७० लाख दलितमाथि अपमान, घृणा र हिंसा झनै बढेर गएको छ। कुनै पार्टीको सरकारले पनि नयाँ कानून कार्यान्वयन गर्दै छुवाछुतजन्य अपराध र अत्याचार नियन्त्रण गर्ने हेतु ठोस कदम चालेको देखिदैन। उल्टो, जातीय हिंसामा संलग्न अपराधी संरक्षण गर्ने र पीडितलाई न्यायबाट बन्चित गर्ने खेदजन्य हर्कत राज्यको तर्फबाट पटकपटक भैराखोको अवस्थामा कानूनीराज्य कमजोर भएको मात्रै होइन, दलित समुदायमा चरम निरासा र बिद्रोहको भावना फैलिएको छ।

गत साल पश्चिम रूकुम सोती गाउँमा अन्तरजातीय विवाहको निहुमा तीन गाउँका कथित उच्च जातीयहरूले लखेटी लखेटी, चरम यातना दिएर नवराज विक र उनका ५ जना साथीहरूलाई मारेर भेरी नदीमा फ्याकिदिए। त्यो संभवत: नेपालको इतिहासमै सबैभन्दा ठूलो जातीय नरसंहार मध्ये एक हो। जातीय अहंकार र घृणाको सबैभन्दा क्रुर रूप थियो त्यो। उक्त जातीय हिंसाले नेपाली समाजको, नेपाली धर्मसंस्कारको, नेपाली सभ्यताको अन्तराष्ट्रिय बेइज्जति भएको सबैले महशुस गरेका छन्। तर, सांसद जनार्दन शर्माले संसदमा मृतकहरू आफै भेरी नदीमा हाम फालेर डुबेर मरेका भन्ने झूटो विवरण प्रस्तुत गरे। उनले आफ्ना पार्टीका मानिस र नातेदार अभियुक्तहरू संरक्षण गर्ने अभिप्रायले शक्तिको दुरूपयोग गर्दै कानूनी प्रकृया प्रभावित गरेको आम बुझाइ छ।

ती नै विवादित व्यक्तिलाई नवनिर्मित देउवा सरकारमा अर्थमन्त्री नियुक्त गर्दा तमाम दलित/शिल्पी समुदायले घोर अपमान महशुस गरेको छ। उनले सरकारको यति जिम्मेवार पदमा बस्ने नैतिक हैसियत राख्दैनन्। हाल सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा पीडित पक्षले (मगर र ठकुरी मृतकका परिवार समेतले) न्याय नपाउने खतरा समेत बढेर गएको छ। तसर्थ, शर्मालाई तुरून्त बर्खास्त गरी कानूनी शासनको प्रत्याभूति गर्न हामी जोडदार माग गर्दछौं।

यसका साथै हाम्रो आन्दोलनका तर्फबाट निम्न मागहरू राख्दछौं:
१)अपराधीको पक्षमा संसदमा बोलेकामा सार्वजानिक माफी माग !
२)सबै मृतकहरूलाई (जातीय समानता र न्यायको लडाईमा) शहीद घोषणा गर !
३)पीडित परिवारहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, गास बासक पासको व्यवस्था गर !

छुवाछुत र जातिभेद नियन्त्रण गरी समाजमा न्याय, शान्ति, सद्भाव, भाइचारा कायम गर्ने हाम्रो यो आन्दोलन र आवाजलाई साथ दिनुहुन राजनीतिज्ञ, पत्रकार, वुद्दीजीवि, नागरिक समाज लगायतका सम्पूर्ण न्यायप्रेमी दाजुभाई दिदीबहिनीहरूमा हार्दिक आव्हान गर्दछौं।

संयोजकहरू: दलमर्दन कामी, चन्देश्वर दास, कमला हेमचुरी र डा. मित्र परियार

कमेन्टहरु