राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने


काठमाडौँ, भदौ ११ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ ।समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनियताको शपथ लिनुहुनेछ । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि उहाँ तत्कालीन संविधानसभामा सदस्य हुनुहुन्थ्यो भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उहाँसँग छ ।
कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।























