सुवास नेम्वाङ र माधव नेपालबीच कोटेश्वरमा भेतवार्ता, नेपाल भन्छन् ` म पोजेटिभ छु´


काठमाडौं । एमाले कार्यदलले तयार पारेको १० बुँदे एकताको प्रस्ताव कार्यान्वयनमा ल्याउने बारे वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच छलफल भएको छ ।
नेता नेपालको निवास कोटेश्वरमा डेढ घण्टा भएको वार्तालापमा नेता सुवास नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए तर नेम्वाङको आग्रहमा नेता नेपालले भने ठोस जवाफ दिएनन् ।
‘पार्टी एकताकै बारेमा लामो कुराकानी भयो । मैले कार्यदलको प्रस्तावबारे बताए । त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने भएकाले तपाईं र अध्यक्षबीच भेटघाट गरेर बाँकी रहेका विषयमा सहमति खोज्दै एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेँ’ नेपालसँगको भेटपछि नेम्वाङले भने, ‘उहाँले पोजेटिभ छु भन्नुभयो ।’
नेम्वाङले उक्त छलफलमा आफुले कार्यदलको १० बुँदे प्रस्तावको जगमा उभिएर एकता जोगाउन आग्रह गरेको बताए । नेम्वाङको आग्रहपछि नेता नेपालले पार्टीमा समस्या आउनुको लामो कारण सुनाएका थिए । यसअघि कार्यदलका सदस्यहरुले प्रतिवेदन बुझाउँदै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका थिए ।
तर, त्यही बीचमा ओलीले नेपाल पक्षलाई माफी दिने र नेपालले ओलीलाई श्री ५ महाराजाधिराज भनेपछि सम्बन्ध झन चिसिएको थियो । यसअघि प्रतिवेदन बुझ्दै नेता नेपालले नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेर मात्रै एकताबारे ठोस जवाफ दिने बताएका थिए ।
बिहीबार नेम्वाङलाई भेट्न समय दिएका नेता नेपालले शुक्रबार पौडेलसँग भेट्ने तयारी गरेका छन् ।






















