गाजामाथिको आक्रमणले नेतन्याहू आफ्नै घरमा घेरिए


काठमाडौं । इजरायलमा आक्रोश चरम सीमामा पुगेको छ । मंगलबार हजारौँ प्रदर्शनकारीहरूले टायर बालेर र सडक अवरुद्ध गर्दै सरकारसँग गाजामा बन्धक बनाइएकाहरूलाई रिहा गर्न तत्काल युद्धविरामको माग गरे । उनीहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको घर बाहिर प्रदर्शन गरेका छन् ।
यो प्रदर्शन भइरहँदा गाजामा इजरायली आक्रमणले १६ प्यालिस्टीनीहरूको ज्यान लिएको थियो । यो विरोध प्रदर्शन गाजाको मुख्य अस्पतालमा भएको घातक आक्रमणको भोलिपल्ट भएको हो, जसमा २० जनाको मृत्यु भएको थियो । मृतकहरूमा चिकित्सक, पत्रकार र बिरामीहरू समावेश थिए ।
मृतकहरूमा प्रख्यात पत्रकार मरियम डग्गा पनि थिइन्, जसले केही दिनअघि भोकले तड्पिरहेका बालबालिकाहरूबारे रिपोर्टिङ गरेकी थिइन् । यो आक्रमणले विश्वभर आलोचना निम्त्याएको छ । प्रेस स्वतन्त्रतासँग सम्बन्धित संगठनहरूले कडा प्रतिक्रिया जनाएका छन् । यद्यपि, नेतन्याहूले यसलाई दुर्भाग्यपूर्ण घटना भन्दै जाँचको आश्वासन दिएका छन् ।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । तर, उनले युद्धविरामबारे छलफल गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट छैन ।
७ अक्टोबर २०२३ मा हमासले २५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये धेरैजसोलाई युद्धविरामको समयमा रिहा गरिएको थियो । तर, अझै ५० बन्धकहरू गाजामा छन् ।
इजरायलको दाबीअनुसार तीमध्ये २० जना जीवित छन् । प्रदर्शनकारीहरूले सरकारले वार्ताको टेबलमा फर्किएमा सम्झौता सम्भव हुने बताएका छन् । बन्धकका परिवारहरूले नेतन्याहूले आफ्नो शासन जोगाउन नागरिकहरूको बलिदान दिइरहेको र युद्ध लम्ब्याइरहेको आरोप लगाएका छन् ।
गाजामा निरन्तर आक्रमण र मृत्यु
गाजाको नासेर अस्पताल, शिफा अस्पताल र शेख रदवान क्लिनिकले मंगलबारको आक्रमणमा १६ फलस्तिनीहरूको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकहरूमा महिला र बालबालिका पनि समावेश छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, जुनदेखि हालसम्म भोकमरी र कुपोषणका कारण १८६ जनाको मृत्यु भएको छ । यसमा ११७ बालबालिका छन् । मन्त्रालयका अनुसार युद्धमा हालसम्म ६२ हजार ८१९ जना मारिएका छन्, जसमध्ये लगभग आधा महिला र बालबालिका छन् ।
नेतन्याहूमाथि दबाब र राजनीतिक संकट
नेतन्याहूले वार्ता सुरु गर्नुपर्छ भन्ने प्रदर्शनकारीहरूको माग छ । उनीहरूले निरन्तर सुरक्षा मन्त्रिपरिषद्माथि दबाब बनाइरहेका छन् । तर, नेतन्याहूको सरकारका दक्षिणपन्थी सहयोगीहरूले युद्धविरामको विरोध गरिरहेका छन् । र, सम्झौताको अवस्थामा गठबन्धन तोड्ने धम्की दिएका छन् ।
यसबीच, इजरायल राजनीतिक अस्थिरता र युद्धको दोहोरो चुनौतीसँग जुधिरहेको छ । अर्कोतिर प्यालिस्टिनी जनता निरन्तर विस्थापन, भोकमरी, र आक्रमणको शिकार बनिरहेका छन् । द गार्जियन























