कतारका सामुदायिक प्रहरी र एनआरएनए एनसीसीका पदाधिकारी विच भेटघाट


दोहा कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी विभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ। मंगलबार एनसिसि कतारका प्रथम उपाध्यक्ष रोशन अर्याल, महासचिव शिब भुजेल, कार्यसमिति सदस्य युवराज पोखरेल तथा गैर आवासीय नेपाली संघका मानर्थ परिषद सदस्य एवंम् एनसिसि कतारका पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानले, विभाग प्रमुख लगायत अन्य उच्चाधिकारीहरु संघ भेटघाट गरेको हो ।
कतारमा अवस्थित नेपाली समुदाय र यहाँ रहेका अन्य आप्रवासीहरु मध्येको दोस्रो बहुसंख्यक समुदाय भएको हुनाले नेपालीहरुको सुरक्षा र नेपाली समुदाय संगको सहकार्य आफ्नो प्राथमिकतामा रहेको कुरा विभाग प्रमुखले बताए। साथै अध्यक्ष पदम गिरीको नेतृत्वमा नयाँ बनेको कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
उक्त भेटघाटमा कतारमा रहेका नेपाली तथा आम श्रमिक वर्गको सुरक्षा बारे छलफल भएको थियो। छलफलमा विशेष गरि नेपाली समुदाय बिच प्रभावकारी सचेतनाका विभिन्न कार्यक्रम आयोजना गर्ने र उनिहरु माझ गृहमन्त्रालय द्वारा सम्प्रेषण गरिने सुचना तथा निर्देशनहरु आम श्रमिक माझ पुर्याउन कम्युनिटी पुलिस र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सहकार्य गर्ने र यस अभियानमा एनसिसि कतारलाई कम्युनिटी पुलिस डिपार्टमेन्टले आवस्यक सहयोग तथा सहजीकरण गर्ने प्रहरी प्रमुखले बताएका थिए ।
सचेतना मुलक कार्यक्रमहरु अझ प्रभावकारी ढंगबाट समुदायसम्म पुर्याउन सदैब सामुदायिक प्रहरी विभाग तत्पर रहेको जानकारी दिएका थिए । यस अभियानका विभिन्न कार्यक्रम गृहमन्त्रालयको अन्य निकाय तथा विभाग संगको सहकार्यमा आयोजना गरिने, ट्राफिक डिपार्टमेन्ट, सिभिल डिफेन्स,लागूऔषध नियन्त्रण विभाग, खोज तथा अनुसन्धान विभाग लगायत अन्य विभागहरुको पनि सहभागिता हुने कुरा, पहल तथा साझेदारी शाखाका अधिकृत प्रथम लेफ्टिनेन्ट अब्दुल अजिज अलमुहनाड़ीले जानकारी दिएका थिए ।
भेटघाटमा अध्यक्ष गिरीले नयाँ बनेको कार्यसमितिका बारे जानकारी दिएका थिए । संघका मानार्थ सदस्य मुसलमानले नेपाली समुदायले अहिलेको अवस्थामा भोगेका विभिन्न कठिनाइ तथा जटिलता, सहजताको निमित्त कम्युनिटी पुलिस डिपार्टमेन्टले खेल्न सक्ने भुमिका बारे प्रकाश परेका थिए । जसमा प्रहरी प्रमुखबाट सकारात्मक प्रतिक्रिया आएको बताए। यस प्रकारको भेटघाटले सुरक्षित र सभ्य समाजको निर्माणमा ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गर्दै बिभाग प्रमुखले आफ्नो अमुल्य र व्यस्त समय दिनु भएकोमा हार्दिक आभार ब्यक्त गरेका थिए । भेटघाटको अन्तिममा प्रथम उपाध्यक्ष अर्यालले भेटघाटका लागि अमुल्य समय उपलब्ध गराएकोमा कम्युनिटी पुलिस परिवारलाई धन्यवाद दिएका थिए ।























