जसपाले साउन १६ गते संसदीय दलको नेता छान्ने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेता छान्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन ।
विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरिएको छ। सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको एक नेताले जानकारी दिए ।
तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ । त्यसैगरी अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई राखिएको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए ।
प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा रहेका छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ ।
स्रोतका अनुसार पार्टीका शीर्ष नेतामध्येबाट संसदीय दलको नेता चयन हुने सम्भावना छ र देउवा सरकारमा उपप्रधान पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो ।
तर, विहीबारको बैठकले मन्त्रीहरुको नाममा सामान्य छलफल गरे पनि टुंगो लगाएको छैन । बुधबारकै बैठकले मन्त्री छान्ने जिम्मा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईलाई दिएको छ ।






















