अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब १ करोड बराबरको केराउ नवलपरासीबाट बरामद


बुटवल । प्रहरीले अवैध रूपमा भारततर्फ लैजादै गरेको करिब १ करोड बराबरको हरियो केराउ नवलपरासीबाट बरामद गरिएको छ । नवलपरासीको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट प्रहरीले उक्त परिमाणको केराउ बरामद गरेको हो।
उक्त सीमा क्षेत्रबाट ३ वटा ट्रक र ७ वटा पिकअप भ्यानमा लोड गरी लैजाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले छुट्टाछुट्टै स्थानबाट ७ सय ३० क्विण्टल केराउ बरामद गरिएको जानकारी दिए।
लामाका अनुसार जिल्लाका भारतसँग सिमाना जोडिएका क्षेत्रबाट तस्करी बढ्न थालेपछि प्रहरीले बढाएको जाँचको क्रममा केराउ बरामद गरिएको हो ।
उनले बरामद गरिएको केराउको बिल भरपाई सक्कली हो कि नक्कली हो? भन्ने अनुसन्धान सुरू गरेको जानकारी दिए।
उनका अनुसार प्रहरीले एक हप्ता पहिले पनि २२ लाख बराबरको केराउ बरामद गरेर लिलामका लागि महेशपुर भन्सार कार्यालय पठाएको थियो। हरियो केराउ नेपालमा भन्दा भारतमा प्रति किलोग्राम ३० देखि ४० रूपैयाँ बढी मूल्यमा विक्री हुने भएपछि सीमावर्ती क्षेत्रबाट भारततर्फ केराउ तस्करी हुँदै आएको छ।






















