देश

उपेन्द्र यादव १८ महिना सरकारमा रहदा गर्न नसकेको काम १८ दिनमा गर्‍यौं : राजेन्द्र महतो

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०६:०४ बजे

जनकपुरधाम । पूर्वमन्त्री राजेन्द्र महतोले १८ महिनामा उपेन्द्र यादवले गर्न नसकेको कामहरु आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् ।

जसपाको विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए । सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले नागरिकता अध्यादेश ल्याए पनि अदालत नै बेइमान भएपछि कार्यान्वयन नभएको बताए ।

महतोले भने ‘हामीले अध्यादेश ल्यायौं, तर अदालतले उल्टो काम गरिदियो’ । उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा यी कामहरु गर्न नसकेको उनको भनाइ रहेको छ । ‘उपेन्द्रजीले चार पटक प्रयास गरे पनि गर्न नसकेको काम हामीले एकै पटकमा गरेका छौं,’ उनले भने । पहिला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी रहेको र उनी मधेसको पक्षमा आएपछि सहयोग गरेको उनले स्पष्टिकरण दिए ।

आफूहरुले गरेका कार्यलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने उनले बताए । ‘हामीले शुरुवात गरेका कामहरु गर्नुपर्‍यो नि,’ महतोले भने, ‘संसद आयो, नागरिकता विधेयक संसदबाटै पारित होस्, संविधान संशोधन होस् र रेशम चौधरी सहितलाई रिहा गराइयोस् ।’

दुई पार्टीको एकतालाई केही व्यक्तिले टिक्न नदिएको आरोप लगाउँदै उनले भने, ‘हाम्रै मित्रले एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभयो र आयोगले दुई ठाउँमा बस्न भनिदियो । यसको मूल्यांकन अब जनताले गर्नेछन् ।’

अब नयाँ पार्टी खोल्ने कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतोले नयाँ पार्टी खोल्नै नपर्ने बताए । जसपा पहिले नै दुई पार्टी मिलेर बनेको थियो अब दुईवटा पार्टी नै रहने उनले बताए । पार्टीको नाम जसपा, राजपा जे राख्दा पनि हुने उनले बताए ।

कमेन्टहरु