काँग्रेसको लगभग ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो, अब छिट्टै नै १४ औं महाधिवेशन सुरु


काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानहरुमा पुन: सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ ।
नेता प्रदीप पौडेलले झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको जानकारी दिए । समितिका सदस्य पौडेलले अब करिब ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरेका छन ।
समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो। सोही प्रतिवेदनमाथि अहिले पदाधिकारी बैठकमा छलफल चलिरहेको छ । समिति सदस्य पौडेलले क्रियाशिल सदस्यता धेरै मिलेकाले अव छिट्टै नै पार्टीको १४ औं महाधिवेशन हुने बताए ।
पौडेलले सर्लाही र सिन्धुपाल्चोक लगायत चारवटा जिल्लाका केही स्थानमा सहमति हुन नसकेकाले ति स्थानको क्रियाशिल सदस्यता नेतृत्वले नै टुंग्याउने गरी जिम्मा दिएको पनि बताए । ‘लगभग ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको छ । यस पटक १३ औं महाधिवेशनको भन्दा अहिले सदस्यता बढि भएको छ । त्यसैले अव अधिवेशनहरु सकेर महाधिवेशन गर्नुपर्छ रोकिँदैन’, पौडेलको भनाई छ ।
नेता पौडेलले जारी पदाधिकारी बैठकले आजै प्रभावित भएको अधिवेशनको नयाँ कार्यतालिका प्रकाशित गर्न छलफल भइरहेको समेत बताए ।






















