सिंहदरबारमा सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच वार्तालाप


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच वार्तालाप भएको छ ।
सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा बिहीबार सापकोटा र खाँणबीच विशेषगरी संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापनका सन्दर्भमा पनि सरकारको दायित्वबारे पनि छलफल भएको छ ।
सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी दिएको सापकोटाको सचिवालयले जनाएको छ ।
त्यसक्रममा गृहमन्त्रीले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भइ राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताएका थिए ।यसवर्ष मनसुनको सुरुवातसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट क्षतिग्रस्त भएपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
गत वर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।






















