देश

बुटवलका माछामासु पसलको अनुगमन, सडेगलेका माछामासु भेटियो

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०४:०४ बजे

रुपन्देही । बुटवल बजारको अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यका अनुसार मासु पसलहरु मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको हो।

उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बजारका अधिकांश मासु पसलहरु अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछामासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला परेको छ ।

उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख एवं पशु चिकित्सक झविन्द्र बञ्जाडेले बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्ज रोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन गर्ने क्रममा सडेगलेका माछामासु पाइएको हो ।

बुटवलको सब्जीमण्डीस्थित सटरमा टोल छिमेक मै दुर्गन्ध फैलाउने गरी मासु पसलहरु सञ्चालन भएको पाइएको छ । तिनलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।

कमेन्टहरु