दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर

रासस
२०८२ भदौ ५ | मध्यान्ह १२:०५ बजे

खलङ्गा (दार्चुला), भदौ ५ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका उहाँले जानकारी दिनुभयो ।


















