अपराध

झापामा लागुऔषधसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०८२ भदौ ४ | बिहान १०:०५ बजे

झापा । झापाको गौरादह नगरपालिका–५, आठ नम्बर बाँधबाट दुई जनालाई प्रहरीले औषधिजन्य लागुऔषधसहित पक्राउ गरेको छ।राति करिब साढे ९ बजे गस्तीमा रहेको प्रहरी चौकी महारानीझोडाको टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड र ट्रामाडोल हाइड्रोक्लोराइड बरामद भएको हो।

पक्राउ पर्नेमा गौरादह–५ का २१ वर्षीय समिर सिवा र २५ वर्षीय शंकर सन्थाल छन्। उनीहरूको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइडको २०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइडको २०० क्याप्सुल फेला परेको छ। दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, मोरङको रंगेली नगरपालिका–५, चाँदनी चोकबाट ठूलो मात्रामा ब्राउनसुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। हिजो साँझ ६ बजे प्रहरीले सडकछेउमा भारतीय नम्बर प्लेटको मोटरसाइकल (बीआर ३९इ३२९३) मा शंकास्पद अवस्थामा बसेका दुई व्यक्तिलाई जाँच गर्दा उनीहरूको साथबाट १२१ ग्राम ब्राउनसुगर बरामद भएको थियो।

पक्राउ पर्नेमा भारत, बिहारको अररिया जिल्ला, थाना सिक्टी, मुरारीपुर वार्ड नं. १ का २९ वर्षीय इम्तियाज अन्सारी र सोही ठाउँका ३२ वर्षीय नुर हसन रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्टहरु