रौतहटबाट गाँजासहित एक जना पक्राउ


रौतहट । रौतहटमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गुजरा–२ निवासी ५५ वर्षीय गोपालबहादुर थिङ रहेका छन ।
उनलाई गुजरा नगरपालिका–२ बाट प्रहरीले गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताएका छ्न ।
थिङले आफ्नै घरमा लागूऔषध गाँजा खरिद–बिक्री गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा गाँजा फेला पारी पक्राउ गरिएको हो ।
उनको घर खानतलासी गर्दा कोठामा लुकाइराखेको करिब साढे ३ किलो गाँजा बरामद गरेको गिरीले जनाएको छ । सोही क्रममा प्रहरीले ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ पनि फेला पारेको छ ।
उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























