देश

अर्थमन्त्री शर्माले दक्षिण कोरियाका राजदुत पार्क चोङ सुक संग कोरिया पठाउने वातावरण बनाउन आग्रह

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवालाई जाने वातावरण बनाइदिन दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकलाई आग्रह गरेका छन्।

अर्थमन्त्री शर्मा र दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकबीच बुधबार भएको भेटमा शर्माले उक्त आग्रह गरेका हुन्। कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरे।

इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवा त्यसै बसेका छन्। यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु, मन्त्री शर्माले भने । राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए।

नेपालीहरूको मेहनत र इमानदारीबाट कोरियाली रोजगारदाता खुसी रहेको प्रसंग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए।

अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत् लगायत क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ।

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिबासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदैछ।

कमेन्टहरु