घटना

पोखरीमा डुबेर दुई जनाको मृत्यु

रासस
२०८२ भदौ ३ | बिहान ०९:०५ बजे

सप्तरी । सप्तरीका दुई छुट्टाछुट्टै ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । खड्क नगरपालिका–६ मा श्रीकृष्ण जन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खड्क नगरपालिका–७ का १८ वर्षीय राजा चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

श्रीकृष्ण जन्मष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा गएको चौकरीको सोमबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि घोंघी टिप्न गएका बेला खड्क नगरपालिका वडा नं २ सीतापुरकी ७२ वर्षीया सजनी सदाको पनि पोखरीमा डुबेर मृत्यु भएको छ । सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

कमेन्टहरु