देश

एसियाकै पहिलो सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास

जगत ठाडा मगर
२०७८ साउन १४ | मध्यान्ह १२:०४ बजे

हेटौंडा । बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङको रुपमा रहेको मकवानपुरको चुरियामाई मन्दिरसँगैको सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास गरेको छ ।

photo 2021 07 29 12 15 11

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमका बीच सुरुङ मार्गको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।

सुरुङमार्ग पुनःनिर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ । आगामी २०७९ साल वैशाख १९ गतेसम्म १ सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनःनिर्माण गर्ने तयारी गरेको छ ।

सुरुङको चौडाइ साढे २ मिटर र उचाई ३ फिट हुने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिने भएको हो ।
प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको छ ।

सुरुङमार्गको इतिहास
राणाकालीन समयमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९१७ सालमा भीमफेदी–अमलेखगञ्ज यातायातका साधन संचालन गरी काठमाडौं गाडीहरु पुर्याउँनका लागि पुन:सुरुङ मार्ग निर्माण गरेका थिए ।

एसियाकै पहिलो चुरियामाई सुरुङ मार्गको डिजाइन नेपाली इन्जिनियर स्वर्गीय ब्रिगेडियर जर्नेल डिल्लीजङ थापाले गरेका थिए । स्व. इन्जिनियर थापा नेतृत्वको प्राविधिक टोलीले १ सय ४ वर्षअघि करिव ५ सय मिटर लम्बाई ९ फिट चौडाईको सुरुङमार्ग निर्माण गरेका थिए ।
तत्कालीन समयमा निर्माण गरिएको सुरुङ भएर वि.सं. २०२० को दशकसम्म भीमफेदी–अमलेखगञ्जसम्म यातायात संचालन भएको जनाइएको छ । साना तथा मालवाहक लहरीहरुलाई आवत जावत गर्न सहज हुने गरी स्व. इन्जिनियर थापाले उक्त सुरुङको डिजाइन गरी निर्माण गरेका थिए । तर पुर्व पश्चिम राजमार्ग संचालनका क्रममा सुरुङको केही भाग भत्काइएपछि सुरुङ पुर्ण रुपमा बन्द हुन पुग्यो ।

उनको योगदानलाई कदर गर्दै चुरियामाई मन्दिर प्रागंणमा गत आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाले स्व. इन्जिनियर थापाको अर्ध कदको सालिक निर्माण गरेको थियो । स्व. इन्जिनियर थापाले हेटौंडा–काठमाडौं रोप वे, जनकपुर–जयनगर रेल मार्ग लगायतका विभिन्न महत्वपूर्ण पूर्वाधारहरुको डिजाइन र निर्माणको नेतृत्व गरेका थिए ।

कमेन्टहरु